अविश्वास प्रस्तावमा चलखेल हुन नदिन सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखियो

अविश्वास प्रस्तावमा चलखेल हुन नदिन सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखियो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा रहेका दलहरुले आफ्ना सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा छन् । जसपाले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई कुटी नजिकैको अर्को एक होटलमा राखेको छ । ‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरुको संख्या नघटोस् भनेर साथीहरुलाई एकै ठाउँमा राखिएको हो’, एकजना प्रदेशसभा सदस्यले भने । आज पनि रिसोर्टमा नै बस्ने उनले बताए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको बताए । उनले भने, ‘एकढिक्का भएर जाने र अविश्वास प्रस्ताव पारित गर्ने भन्ने कुरा भएको छ ।’