दुई चरणकै खोप लगाएकी कार्यपालिका सदस्यको कोरोनाबाट मृत्यु

दुई चरणकै खोप लगाएकी कार्यपालिका सदस्यको कोरोनाबाट मृत्यु

बागलुङ । कोरोना भाइरस  संक्रमणका कारण जिल्लाको ताराखोला गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–३ की ३० वर्षीया तेजमायाँ भण्डारी परियारको मृत्यु भएको हो । ताराखोला गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकी भण्डारीको कोरोना संक्रमण पश्चात उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 

रुघाखोकी र कोरोनाको लक्षण देखिएपछि भण्डारीलाई १८ गएराति ८ बजे धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति अस्पतालको आइसियुमा भर्ना गरिएको अवस्थामा उपचारकै क्रममा ज्यान गएको घिमिरेले बताए । ३र४ दिन अघिदेखि सामान्य रुघाखोकी लागेपछि स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसनमा बसेकी उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापाले बताए । 

‘रुघाखोकी कोरोना लक्षण देखिएपनि घरमै बसेर औषधी खाइरहनु भएको रहेछ,’ थापाले भने, ‘गाउँपालिकाको कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजनको मात्रा जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्यौ, तर कठीन भएपछि तत्काल धौलागिरी अस्पताल रेफर गरेर पठाएका हौ ।’ अस्पतालमा आइसियुमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको थापाले बताए । 

कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोप समेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए । खोपले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ ।   काठेखोला गाउँपालिका ३ धम्जा माइत भएकी उनले अन्र्तजातिय विवाह गरेकी हुन् ।

भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वडा सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् । यो सँगै बागलुङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । कुल एक हजार तीनसय ५ जना संक्रमित भइसकेको यस जिल्लामा हाल एक सय ९९ संक्रिय संक्रमित छन् ।