कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारी अभ्यास राष्ट्रियसभाबाट हुन लागेको छ । राष्ट्रियसभाका दुई सिटमा हुने उपनिर्वाचनमा एकरएक सिट बाँड्ने सहमति भएको छ ।
माओवादीका एक नेताका अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सिट बाँडफाँट गर्ने सहमति भइसके पनि कुन प्रदेशको लिने भन्नेचाँहि टुंगो लागेको छैन ।
अहिले बागमती प्रदेशमा एक सिट र लुम्बिनी प्रदेशका अर्को एक सिटमा उपनिर्वाचन हुँदै छ । बागमती प्रदेशका लागि ६ जेठमा उपनिर्वाचन तय भइसकेको छ । लुम्बिनी प्रदेशका लागि भने उपनिर्वाचनको मिति तोकिएको छैन ।
बागमती प्रदेशका राष्ट्रियसभा सदस्य रामबहादुर थापा 'बादल' एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । कारबाहीसँगै रिक्त रहेको पदका लागि उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी, लुम्बिनी प्रदेशमा माओवादीकै चन्द्रबहादुर खड्का पनि एमालेमा प्रवेश गरेपछि पद रिक्त हुन पुगेको हो ।
बागमती प्रदेशमा एमालेले बादललाई नै उम्मेदवार बनाएको छ । तर, कांग्रेस र माओवादी गठबन्धनको उम्मेदवार भने तय भइसकेको छैन । २४ वैशाखमा उम्मदेवारी दर्ता गर्ने कार्यतालिका छ । त्यसो हुँदा आजभोलि नै दुई दलबीच समझदारी टुंगो लागिसक्नुपर्नेछ । माओवादी स्रोतका अनुसार, बागमती प्रदेशमा माओवादी र लुम्बिनी प्रदेशमा कांग्रेसले भाग लिने सम्भावना छ ।
एमालेका प्रदेश सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएपछि कांग्रेस–माओवादी गठबन्धनले पाण्डेयलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका थिए । त्यो निर्णयलगत्तै उनी कांग्रेसमा प्रवेश गरेका छन् । त्यसैले लुम्बिनीमा हुने उपनिर्वाचनमा कांग्रेसले सिट लिने सम्भावना छ ।