निर्वाचन आयोगले आचारसंहिता विपरीत विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै अपील जारी गरेका थिए ।
आयोगले मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा आयोगले आचार संहिता पालना नगर्नेलाई कारबाहीको चेतावनी समेत दिएको छ ।
