बुटवल । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभाको उपनिर्वाचनको मत गणना सुरु भएको छ । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।
मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुखले २१४ जनाले मतदान गरे । जसमा कोरोना संक्रमित २७ मतदाता थिए । मतदानमा कुल २९७ भोट खसेको छ ।
आजको मतदानमा स्थानीय तहका तीन मतदाता अनुपस्थित भएका छन् । मतदानमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन् । उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए । यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी भएका कारण मतदानमा अनुपस्थित भएको जनाइएको छ ।
उपनिर्वाचनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट काँग्रेसका दिर्घनारायण पाण्डे उमेदवार छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।