महन्थ पक्षलाई हटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउने प्रयास

महन्थ पक्षलाई हटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउने प्रयास

जनकपुरधाम । जनता समाजवादी पार्टी महन्थ ठाकुर–राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारका सहभागी भएपछि प्रदेश २ को मन्त्रिमण्डल फेरबदल हुने देखिएको छ। जसका लागि जसपा अर्का अध्यक्ष उपेन्द्र यादव शुक्रबार जनकपुरधाम पुगेका छन्।

अध्यक्ष यादव प्रदेश २ सरकारको जिम्मेवारी परिवर्तनको रणनीति तयार गर्न शुक्रबार साँझ जनकपुर आइपुगेका हुन्। जनकपुर आउनुअघि यादव नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेट गरी प्रदेश सरकार परिवर्तनमा सहयोग गर्न छलफल गरेका थिए।

जसपा केन्द्रमा विभाजन भएपछि यादव पक्षका लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकार धरापमा पर्ने अवस्था आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै कांग्रेसलाई सरकारमा सहभागी हुन अध्यक्ष यादवले आग्रह गरेका छन्। जसपामा विवाद चुलिएपछि अध्यक्ष यादवले प्रदेश सरकार बचाउन कांग्रेस उपसभापति निधिलाई भेटेर कुराकानी गरेका हुन्। 

पार्टी स्रोतअनुसार यादव केही दिन जनकपुर बसेर ठाकुर निकटका मन्त्रीलाई हटाएर प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सरकारमा ल्याउने तयारीमा लागेका छन्। यता मुख्यमन्त्री लालबाबु राउतले पनि आफ्नो नेतृत्वको सरकारले पार्टीको आन्तरिक लफडाका कारण प्रमुख प्रतिपक्ष कांग्रेसलाई सरकारमा आउन छलफल अगाडि बढाएका छन्।

मुख्यमन्त्री राउतले कांग्रेस संसदीय दलका नेता राम सरोज यादवलाई आफ्नो निवासमा बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। मुख्यमन्त्री राउतबाट आएको प्रस्तावको सम्बन्धमा छलफल गर्न कांग्रेस प्रदेश सांसदहरूले आन्तरिक छलफलसमेत गरेका एक सांसदले जनाए।