उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो

उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ।

मौसम विभागले सूचना मार्फत  उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको जनाएको छ।

विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। यो क्रम आइतबारसम्म रहने विभागले जनाएको छ।

यस्तै खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्। खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन्।

उनका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएको तर बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन सकेको छैन। पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन्।

भिजिविलिटी कम भएकोले काठमाडौं विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताए। मौसम बिग्रिएकाले आजका कुनै पनि माउन्टेन फ्लाइट नभएका विमनस्थलले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुनेछ।