कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा

कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ता काठमाडौं केन्द्रित भएका छन् ।

कात्तिक २ गते रवि पक्राउ परेको भोलिपल्टैदेखि पोखराका सडकमा उत्रिएका रास्वपा नेता–कार्यकर्ताले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । सभापति लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सिंगो रास्वपा नै सडकमा उत्रिएको छ । प्रदर्शनमा सहभागीहरू प्लेकार्डसहित उपस्थित भएका थिए ।

उनीहरूले भ्रष्टाचारविरोधी नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले ‘ओई सरकार ओई, ८७ अर्ब खोइ ? यती ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरिबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर्, अधिनायकवाद चल्दैन’,जस्ता नारा लगाएका थिए । रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए ।

सहकारी ठगी सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रवि समातिएपछि रास्वपाले त्यसलाई राजनीतिक रंग दिने प्रयास गरेको छ । थप अनुसन्धान, छानविन र न्यायिक प्रक्रिया अगाडि बढिरहँदा रास्वपाले राजनीतिक प्रतिशोध भन्दै प्रभावित गर्न खोजिरहेको छ ।

न्यायिक प्रक्रिया अगाडि बढिरहँदा रवि र सिंगो रास्वपा सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै राजनीतिक रंग दिएर प्रदर्शन गरिरहेका हुन् । सहकारी प्रकरणमै छवि पक्राउ परेपछि रविले न्यायिक निरूपणमा सघाउने बताएका थिए। तर, पक्राउ पर्नुअघि उनले नै सरकारविरुद्ध आन्दोलन गर्न आहृवान गरेका थिए।

रास्वपाका सदस्यसमेत रहनुभएका शिशिर खनालले हस्ताक्षर गरेको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडियाका सञ्चालक तथा पूर्व–डिआइजी छविलाल जोशीपछि कात्तिक २ गते प्रहरीले रविलाई पक्राउ गरेको थियो ।

काठमाडौंबाट पक्राउ गरेर उनलाई पोखरा प्रहरीको हिरासतमा राखिएको छ । पोखराको सूर्यदर्शनसँगै रूपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा समेत उनी जोडिएका छन् । संसदीय विशेष समितिले सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै रवि सहितलाई कारबाही सिफारिश गरेको थियो । समितिको प्रतिवेदन सार्वजनिक भएलगत्तै रविले क्लिन चिट पाएको रास्वपाले प्रचार गरेको थियो ।

रास्वपा सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताएका छन्। शुक्रबार माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले भ्रष्टहरू सरकारमा र आफूहरू सदन र सडकमा रहने बताए। पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको अवस्थामा गत निर्वाचनबाट रास्वपा संसद्मा आएपछि उनीहरूको निद्रा हराएको उनले बताए।

ढकालले नयाँ शक्तिको रूपमा उदाएको आफ्नो पार्टीलाई अरूजस्तै हुन् भन्ने हो भन्ने भाष्य पार्न खोजिएको आरोप लगाए। ‘हाम्रो पार्टी संसद्मा आएपछि उनीहरूको निद्रा हराएको छ । हामीले सदनमा सशक्त आवाज उठाएका छौँ । अब २०८४ सम्म सदन र सडक हाम्रो हो । सरकार भ्रष्टहरूको, यो अभियानलाई साथ दिनुहोला,’ उनले भने।

रास्वपा सरकारमा हुँदा अरूले भन्दा राम्रो काम गरेको दाबी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ गरेपछि सरकार ढालेको उनले दाबी गरे। राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको उनको भनाइ थियो।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन्। शुक्रबार आन्दोलनस्थल नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जानसक्ने चेतावनी दिए। रास्वपालाई नहेप्न पनि उनले सरकारलाई चेतावनी दिए। ‘यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ श्रेष्ठले भने, ‘९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ । तीन करोडको पछि सरकार किन लागिरहेको छ ?’

विकृति र विसंगति रोकेर सुशासन ल्याउनुपर्ने सरकार रवि लामिछानेलाई फसाउन लागिरहेको उनले बताए। कार्यक्रममा रास्वपा सांसद गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको अरोप लगाए। पराजुलीले सहकारी छानविन प्रतिवेदनमा ८७ अर्ब अपचलनबारे नखोजी रवि लामिछानेलाई मात्र पक्राउ गरेको बताए। सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको उनको दाबी छ ।

जिबी राईलाई पक्राउ गर्न कसले रोक्यो भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो । सरकारले प्रमाणबिना लामिछानेलाई पक्राउ गरेको उहाँले दाबी गरे। ‘सरकारमा रहेका दलहरू हामीलाई देखेर डराएका छन् । थर्थराएका छन् । हामीले षड्यन्त्रको सामना गर्नुपर्छ,’ उनले भने।