काठमाडाैं। मनसुन बाहिरिएको तीन सातामै तिहारको भाइटीकाबाट नेपालका अधिकांश पहाडी भूभागमा भइरहेको वर्षामा तीन किसिमका मौसमी प्रणाली जिम्मेवार देखिएको अधिकारीहरूले बताएका छन्।
मनसुनी वायु बाहिरिएपछि नेपालको मौसममा हाबी हुने गरेको पश्चिमी वायुको असरका कारण आइतवारबाट वर्षा भइरहेको मौसमविद् बताउँछन्। तर पश्चिमी वायुसँगै यो पटकको वर्षामा नेपालमा विकसित हुने स्थानीय वायु र भारतको पश्चिम बङ्गाल क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि योगदान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
“हाल पश्चिमी वायुसँगै, स्थानीय वायु र भारतको पश्चिम बङ्गालआसपास रहेको न्यूनचापीय प्रणाली पनि देखिन्छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने भन्छन्।
“विशेष गरी पहाडी भूभागतिर पानी पार्ने बादल विकसित भइरहेको हुन्छ। त्यसले गर्दा पहाडी भूभागतिर वर्षा हुने सम्भावना बढ्छ,” मौसमविद् लामिछाने हुन्छन्।
वर्षाको समयमा भिजेको नेपालको जमिन मनसुन सकिएपछि लाग्ने घामका कारण तातिँदा स्थानीय वायु पनि आर्द्रतायुक्त बन्ने गरेको छ।
“वर्षायाममा पानी परिरहेको हुन्छ। त्यस ठाउँमा दिनभरि तातिँदा साँझपख बादल विकसित हुन्छ र मेघगर्जन वा हावाहुरीसहितको असिनापानी पर्न सक्ने सम्भावना पोस्टमनसुनको समयमा हुन्छ,” लामिछाने भन्छन्।
अहिले नेपालमा बनिरहेको यो स्थानीय वायुलाई पश्चिमी वायुले थप सहयोग गर्दा आइतवारबाट वर्षा भइरहेको उनले बताए।
त्यससँगै नेपालको दक्षिणपूर्वी दिशामा पर्ने भारतको पश्चिम बङ्गाल क्षेत्रमा तापक्रम बढेर न्यूनचापीय क्षेत्र बन्दा हावा त्यसतर्फ बहिरहेको छ। तापक्रम उच्च भएका क्षेत्रमा हावाको चाप कम हुने भएका कारण कम तापक्रम भएका क्षेत्रबाट त्यसतर्फ हावा बग्न थाल्छ।
पश्चिम दिशाबाट आउने भएकाले नेपालमा मनसुन सकिएपछि वर्षा गराउने आर्द्रतायुक्त हावालाई ‘वेस्टर्ली’ वा पश्चिमी वायु भनिएको हो। विज्ञहरूका अनुसार अरब सागरमा उत्पन्न हुने यो प्रणाली हिउँद याममा त्यहीँबाट आर्द्रता लिएर नेपाल आइपुग्छ।
“पश्चिमतिरबाट पूर्वतिर बहने भएकाले हामी त्यसलाई पश्चिमी वायु भन्छौँ। भारतको उत्तराखण्डआसपास हुँदै यो नेपाल प्रवेश गर्छ,” महाशाखाका मौसमविद् लामिछाने भन्छन्।
त्यसअघि यसले इरान, अफगानिस्तान र पाकिस्तान हुँदै यात्रा गरेको हुन्छ।
पश्चिमी वायुको प्रणालीमा तीव्र गतिमा बहने वायु हुन्छ। दक्षिण एशियाको भूगोल र पर्वतीय संरचनाका कारण यसको गति अझ सघन हुने मौसमविद्हरू बताउँछन्।
हिउँद याममा पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा हुने गरेको छ।
मौसमविद् लामिछानेका अनुसार मङ्गलवारबाट नेपालका अधिकांश भूभागको मौसम सुधार हुँदै जाने पूर्वानुमान छ।
“मङ्गलवार दिउँसोसम्म पहाडी भूभागतिर बदली हुने र वर्षा हुन सक्ने सम्भावना रहन्छ। तराईका क्षेत्रमा वर्षा कम हुँदै गइरहेको छ र त्यहीअनुसार घट्दै जाने अनि मौसम पनि सुधार हुने देखिन्छ,” लामिछानेले भने।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार राति र मङ्गलवार दिउँसो कुनै पनि क्षेत्रमा भारी वर्षा हुने सम्भावना भने छैन। वर्षाको आकलन गरिएका बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि हल्का र मध्यम वर्षा हुने पूर्वानुमान छ।
नेपालका अधिकांश भूभागमा केही दिनयता अधिकतम र न्यूनतम दुवै तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाण्डूमा सोमवार दिउँसोको समयमा औसत अधिकतम तापक्रम २० डिग्री सेल्सिअस रहेकोमा रातको समयमा न्यूनतम तापक्रम १४ डिग्री सेल्सिअससम्म झर्ने पूर्वानुमान छ।
“विगत केही दिनदेखि नै चिसो बढ्दै गएको देखिन्छ। वर्षा भएपछि झन् जाडो बढ्ने भइहाल्यो। त्यसपछि पनि अब चिसो बढ्दै जाने देखिन्छ,” लामिछाने भन्छन्।
जल तथा मौसम विज्ञान विभागले अक्टोबरदेखि डिसेम्बर महिनासम्मको मौसमको प्रक्षेपण सार्वजनिक गर्दै यो अवधिमा अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी हुने अर्थात् कम जाडो हुने पूर्वानुमान गरेको छ।
“यो वर्ष पोस्टमनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने देखिएको छ,” जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।
गत वर्ष पनि नेपालभरि वार्षिक औसतभन्दा बढी अधिकतम र न्यूनतम तापक्रम मापन गरिएको थियो।
“हिउँदभन्दा अगाडि र बर्खा सिजन सकिएपछिको पोस्टमनसुन अवधिमा देशको पूर्वी भूभागतिर अलि बढी वर्षा हुने र तापक्रम पनि सरदरभन्दा बढी रहने भनेर अनुमान गरिएको छ,” लामिछानेले भने।
तिहारलगत्तै भएको वर्षाले नेपालका सहरी क्षेत्रमा जम्मा भइरहेको प्रदूषण घटाउन सकारात्मक सहयोग पुर्याउने मौसमविद्हरूले बताएका छन्।
“यो वर्षाले वायुमण्डलमा कोचिएर बसिरहेको प्रदूषणलाई केही समय भए पनि पखालिदिन्छ। तर फेरि वर्षा भएन भने फेरि प्रदूषण बढ्न सक्छ,” लामिछाने भन्छन्।
धान काट्ने समयमा भएको वर्षाले कृषकहरूलाई बाली भित्र्याउन भने असर पुर्याउने ठानिएको छ। तर हिउँदे बाली लगाउनका लागि यो वर्षाले सकारात्मक असर गर्ने जानकारहरू बताउँछन्।
मौसमविद् लामिछाने यस्तो वर्षामा उच्च पहाडी र हिमाली क्षेत्रमा घुम्न जानेहरू भने सजग रहनुपर्ने बताउँछन्।
“हिमपातको समेत सम्भावना रहेका कारण यो समयमा घुम्न जानुअघि मौसमसम्बन्धी जानकारी लिएर मात्रै निस्कनु राम्रो हुन्छ,” उनले भने।