सहकारी पीडितको आन्दोलनमा रास्वपाले जनायो ऐक्यबद्धता

सहकारी पीडितको आन्दोलनमा रास्वपाले जनायो ऐक्यबद्धता

काठमाडौँ । मंसिर ५ गतेदेखि सहकारी पीडितहरूले गर्ने काठमाडौँ केन्द्रित आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ ।

मंगलबार कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाएका हुन् । रास्वपाले बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नागरिकहरूमा आग्रह समेत गरेको छ । 

‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्दैछन् । फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाले बताउँदै आएको छ ।