चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री ओली आफ्नो भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन्।

सो क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि छयाङ, राष्ट्रपति सि जिनपिङसहित चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल चीसँग उच्चस्तरीय भेटघाट तथा बार्ता गरेका थिए।

गत सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीले आफ्नो चार दिने भ्रमणको क्रममा बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्न पनि पुगे।  

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी छ्याङको उपस्थितिमा नेपाल र चीन बिचमा ९ बुँदे समझदारी तथा सहमति पत्रमा हस्ताक्षर भएको थियो भने त्यसपछि राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता भएको थियो, जहाँ राष्ट्रपछि जिनपिङले नेपाललाइ ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका थिए। साेही साँझ नेपाल र चीनबीच भ्रमणकाे द्विपक्षीय बक्तब्य जारी गरिएकाे थियाे।  

भ्रमणको तेस्रो दिन बिहान प्रधानमन्त्री ओलीले पेकिङ बिश्वविद्यालयमा आफ्नो मन्तब्य राखेका थिए भने दिउँसो नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको थियो। जुन फ्रेमवर्क सम्झौतामा नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनकातर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली आफनो चार दिने भ्रमण सकाएर बिहान ९ बजे नेपालका लागि प्रस्थान गर्नेछन् भने उनी अपरान्ह २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रने छन्।