वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण

काठमाडाै। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायद्धारा लिखित ‘मान्छेको मुटु’ पुस्तक सार्वजनिक भएको छ। आइतबार आयोजित कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष डा. सत्यनारायण सुवाल, नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष डा. रत्नमणि गजुरेल, डा. प्रकाशराज रेग्मीलगायतले पुस्तक विमोचन गरेका हुन्।

पुस्तकमा मुटुसम्बन्धी विविध रोग, त्यसबाट बच्ने उपाय र उपचारसम्बन्धी आम मानिसका अनेकौं जिज्ञासाको सरल जवाफ दिने प्रयास गरिएको छ। पुस्तकको बीचबीचमा प्रश्नोत्तर शैली अपनाइएको छ, जसले मुटुसँग सम्बन्धित आम मानिसको मनमा उत्पन्न हुने कोतुहल्ता मेट्न सहयोग पुग्ने लेखक डा. उपाध्यायले बताए। उनका अनुसार पुस्तकमा मुटुको बारेमा तथ्यपरक र भावनात्मक पक्षलाई पुस्तकमा उतारिएको छ।

यस्तै मुटु र मस्तिष्कको सम्बन्ध र समन्वयबारे पनि व्याख्या गरिएको छ। ‘यो मुटु कहिल्यै थाक्दैन, दिनमा एक लाख पटक धड्किन्छ, जन्मदेखि अन्तिम समयसम्म काम गर्छ, मुटुमा आफ्नै किसिमको सानो ब्रेन पनि हुन्छ, जसले मुटुलाई चलाउँछ,’ उनले भने, ‘मेरो डाक्टरी जीवनमा उठेका कैयौं प्रश्नको उत्तर किताबमा दिने प्रयास गरेको छु ।’

पुस्तकको समिक्षा गर्दै नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष डा. गजुरेलले मुटुरोगसँग सम्बन्धित विज्ञ चिकित्सकले लेखेकोले यो पुस्तक निकै उपयोगी रहेको बताए । उनले पुस्तक सरल शैलीमा लेखिएको बताए । यस्तै डा. प्रकाशराज रेग्मीले प्रेम मुटुले गर्ने र त्यसको जानकारी मस्तिष्कले गर्ने बताए । ‘मुटु र मस्तिष्कको आफ्नै समन्वय हुन्छ, यिनीहरू जानकारी सेयर गरेर चल्छन्, पुस्तकमा मुट र आध्यात्मिक पाटोलाई पनि औल्याइएको छ,’ उनले भने, ‘मुटुको एउटा क्षमता हुन्छ, जुन गड गिफ्नै नै हो, मुटु शरीरबाट अलग गर्दा पनि धड्कन छाड्दैन, तर हाम्रो शरीरमा मुटु र अन्य अंगहरूको तालमेल मिल्नुपर्छ ।’

डा. उपाध्यायको यो दोस्रो पुस्तक हो भने यसभित्र मुटुसँग सम्बन्धित दुई सयभन्दा बढी प्रश्नको उत्तर दिने प्रयास गरिएको छ । ३१० पृष्ठको पुस्तकमा १७ वटा रोचक शीर्षक समावेश छन् ।