नेकपाले बनाएको कार्यदलमा बस्‍न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार

नेकपाले बनाएको कार्यदलमा बस्‍न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार

काठमाडौँ : संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन् । सोमबार बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए । उक्त भेटमा दुवैले कार्यदलमा बस्न असहमति जनाएका हुन् ।

संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो। यो गोप्य राख्‍ने कुरै होइन। जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो। संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन। त्यसमा मेरो सहमति छैन, पत्रकारहरुसँगको कुराकानीमा नेम्वाङले भने।

यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए। शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भन्ने मनाशयले गएको थिएँ। राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ, उनले भने।

लहडका आधारमा भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने देवकोटाले बताए।आफूहरुको तर्कमा सचिवालय सदस्य नेपाल समेत सकारात्मक भएको नेम्वाङको दाबी थियो।