पोखरा : ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक बनाइएको छ ।
पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतल अनावरण गरेका हुन् । उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख उपलब्ध गराएको हो ।
सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर रवीन्द्रको शालिक बनाएका हुन् । अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाएको बाटो सबैका लागि अनुकरणीय भएको बताए ।
उनका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उनले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गरे । जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले चुनावमा गरिएका प्रतिबद्धतालाई आत्मसात गर्नुपर्ने बताए ।