मन्त्रिपरिषद् निर्णयः सरुवा, बढुवादेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म

मन्त्रिपरिषद् निर्णयः सरुवा, बढुवादेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म

काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको छ । आज (बुधबार) नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का २० वटा निर्णय सार्वजनिक गरेका हुन् । 

बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको लागि १३७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिनको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । 

ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै, साना सिँचाइ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८.८ लाख स्वीस फ्रयाङ्क प्राप्त गर्ने, २०८२ वैशाख ५ गतेदेखि ११ गतेसम्म कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव (कृषि विकास) डा.गोविन्द प्रसाद शर्मालाई भारत भ्रमणको लागि स्वीकृति प्रदान निर्णय भएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतका बोर्डर आउटपोष्ट, गुल्म तथा विपद् ब्यवस्थापन वेशसमेतका १३ कार्यालयहरूको लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने, नेपाली सेनातर्फ दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने र तीन जना सहायक रथीहरूको सरुवा गर्नेलगायतका निर्णय भएका छन् ।

मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई आगामी जेठ ८ मा चीनको बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आगामी वैशाख ९ र १० गते हङ्कङमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।