जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु : प्रचण्ड

जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताएका छन्। आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा द्धन्दकालमा मारिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै जनयुद्धका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिने बताएका हुन्।

संक्रमणकालिन न्याय सम्पादन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्धन्दकालीन मुद्दा टुङ्गो लगाउन आफु प्रयासरत रहेको पनि बताए। माओवादी जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको अध्यक्ष भएको कारणले आफुले जिम्मेवारी लिने बताए।

जनयुद्धमा मारिएका भएपनि सबैलाई सम्बोधन हुनेगरी सत्य निरुपण होस् भन्ने पक्षमा आफु रहेको उनको भनाई थियो। द्वन्द्व पीडितहरुको माग बमोजिम सत्यनिरुपण मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको अहिलेको कानुन संसोधनको तयारीमा रहेको र छिट्टै पदाधिकारीहरु नियुक्त हुने पनि अध्यक्ष प्रचण्डले बताए।

तत्कालीन समयमा राज्यपक्ष वा विद्रोही पक्षबाट भएका जघन्य प्रकृतिका घटनामा दोषी ठहरिनेले कारबाही भोगे मात्रै भविश्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सकिने पक्षमा आफु रहेको पनि बताए। अध्यक्ष प्रचण्डले आफुहरु ब्ल्यांकेट एम्नेस्टिको पक्षमा नरहेको पनि स्पष्ट पारे।