काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तत्काल लकडाउन खुकुलो पार्न सम्भव नभएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो पार्ने विषयमा भएको छलफलमा ओलीले तत्काल सम्भव नभएको भन्दै असार १ गतेपछि मात्रै मोडालिटी परिवर्तन गरेर जान सकिने बताएका थिए ।
प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तनका लागि थप दुई दिन गृहकार्य गरेर अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन् । ओलीले कोरोनाको फैलँदो संक्रमण दर कम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने गरी लकडाउनको मोडालिटी बनाउनुपर्नेमा जोड दिएको एक मन्त्रीले बताए ।
लामो समयदेखि लकडाउन जारी रहे पनि कोरोनाको संक्रमण दर झन् बढेपछि सचेतता अपनाउँदै खुकुलो गर्दै जाने विषयमा केही दिनयता प्रधानमन्त्री ओली र उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्दै आएका छन् । समितिले लकडाउनको मोडालिटी परिवर्तनसम्बन्धी प्रारम्भिक मस्यौदासमेत तयार पारेको छ । मस्यौदामा १ असारपछि लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजाने गरी प्रारम्भिक मोडालिटी तयार पारेको छ ।