तीन जना अध्यक्ष रहनेगरी जसपाको विवाद मिल्यो, दल दर्ता गर्न आजै निर्वाचन आयोग जाँदै

तीन जना अध्यक्ष रहनेगरी जसपाको विवाद मिल्यो, दल दर्ता गर्न आजै निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष र पाँच पदाधिकारी रहने टुंगो लागेको छ । जसमा तीन जना अध्यक्षमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव रहने निर्णय भएको बताइएको छ ।  ठाकुर र यादव कार्यकारी अध्यक्ष रहनेछन् भने भट्टराई संघीय परिषद अध्यक्ष रहनेछन् । वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई  पदाधिकारी रहने सहमति भएको छ ।  

यो सहमतिसँगै जसपा नेताहरू दल दर्ताका लागि आजै निर्वाचन आयोग जाँदैछन् । राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो । तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । 

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो ।