काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ। दुई नेताबीच आइतबार दिउँसो बालुवाटारमा एक्लाएक्लै भेट भएको हो। भेटमा अमेरिकी सहयोग परियोजना (एमसीसी)को विवादलाई कसरी हल गर्ने भन्नबारे कुराकानी भएको थियो ।
दुई अध्यक्षबीच एमसीसीबारे सचिवालय बैठकमा फेरि विस्तृतमा छलफल चलाएर निर्णय लिइने सहमति भएको छ । एमसीसीका विषयमा छलफल गर्न भोलि सचिवालय बैठक डाकिने भएको छ। नेपालका विभिन्न आयोजनामा अमेरिकाले गर्न लागेको अनुदान सहयोग एमसिसीलाई लिएर नेकपाभित्रै तीव्र मतभेद छ। एमसीसीमा भएका परियोजनाको काम अघि बढाउने गरी सरकारले आगामी वर्षको बजेट ल्याएको छ।
नेकपाका कतिपय नेताहरूले एमसीसी अमेरिकी सैन्य रणनीति भएकाले यसलाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन्। यसअघि बसेको सचिवालय बैठकले संसदबाट एमससीसी पारित नहुँदासम्म यसअन्तर्गतका कार्यक्रम अगाडि नबढाउने निर्णय गरेको थियो।