प्रचण्डनिकट मन्त्रीलाई बोलाइएन बालुवाटार बैठकमा, ओलीइत्तरका मन्त्रीहरु सामूहिक राजीनामाको तयारीमा

प्रचण्डनिकट मन्त्रीलाई बोलाइएन बालुवाटार बैठकमा, ओलीइत्तरका मन्त्रीहरु सामूहिक राजीनामाको तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श लिएका छन् ।  नेकपाको स्थायी समितिको बैठकमा आफ्नो चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी समिति सदस्य र मन्त्रीहरुसँग परामर्श लिएका हुन् । 

मंगलबारको बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि आजको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गर्न ओली राजनीतिक परामर्शमा जुटेका हुन् । 

आज बिहानकाे बालुवाटार बैठकमा ओलीले प्रचण्डनिकट मानिने मन्त्रीहरु वर्षमान पुन, शक्ति बहादुर बस्नेत तथा गिरीराजमणी पोखरेललाई वैठकमा बोलाएनन्। तर पछिल्लो समय प्रचण्डसँग दुरी बढेका गृहमन्त्री राम बहादुर थापा र अर्का नेता लेखराज भट्टलाई बैठकमा बोलाइएको छ ।

यता ओलीले राजीनामा नदिने बुझेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका र उपाध्यक्ष वामदेव गौतम भने आफू निकटस्थ मन्त्रीहरुलाई राजीनामा गराउने विषयमा एकमत भएको स्रोतको दाबी छ । आजको बैठकमा ओलीका कुरा सुनेर उनीहरुले मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्ने भएका छन् । 

चौतर्फी घेराबन्दी भएपछि ओलीले आफूनिकट नेता तथा कानूनविद्हरुसँग आगामी कदमको बारेमा छलफल चलाइरहेका छन् । राजनीतिक  संकटकाल, मध्यावदी निर्वाचन घोषणा र फर्टी फुटाउनेसम्मको विकल्पबारे छलफल चलिरहेको स्रोतको दाबी छ । समग्र पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा नेकपा चरम रानीतिक संकटमा पुगेको बुझ्न सकिन्छ ।