काठमाडौं । नेकपाको पछिल्लो विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि एक्ला एक्लै वार्तामा बसेका छन् । दुई अध्यक्षबीच विवाद समाधानको लागि पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन ।
स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर आज पनि अध्यक्षद्वय वार्तामा जुटेका छन् । सोमबार अध्यक्षद्वयको वार्ता सकारात्मक भएको भनिए पनि ठोस समाधान निस्किएको थिएन । आज ११:३० बाट सुरु भएको वार्ता यतिवेलासम्म जारी छ ।
अध्यक्षद्वयको आजको वार्ता निर्णायक हुने नेकपाका नेताहरूले विश्वास गरेका छन् ।
यता अध्यक्षद्वयको एक्लै वार्ता अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने मन पराएको छैन । नेता नेपाल निकटका नेताहरूका अनुसार नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षको गोप्य वार्ताप्रति असन्तुष्ट छन् । दुई अध्यक्षले विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मासहित छलफल गर्दा आफ्नो पक्षका नेतालाई सहभागी नगराएकोमा नेपालका पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् ।
नेता नेपालले दुई अध्यक्षबीचको चोचोमोचो स्वीकार्य नहुने भन्दै वार्तामा आफूलाई पनि सहभागि गराउन प्रचण्डलाई दबाब दिंदै आएका छन् ।