'२५ जनाभन्दा बढी जम्मा हुनुहुँदैन भन्ने छ, मेरै पार्टीका साथीहरू केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिनुहुन्छ,' कोरोना संकटमा भावी रणनीति तय गर्नका लागि विज्ञहरूसँगको परामर्श बैठकमा मंगलवार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भने ।
उनको संकेत स्थायी कमिटी र केन्द्रीय कमिटी दुवै बैठक बस्नु उचित छैन भन्ने थियो । समय मात्र उचित नभएको होइन, स्वयं ओलीका लागि पनि यी दुई कमिटी अनुकूल अवस्थामा छैनन् ।
दुवै कमिटीमा ओली अल्पमतमा छन् । बरू ओली सचिवालय बैठक बोलाऔं भनिरहेका छन्, जहाँ आफूलाई तुलनात्मकरूपमा सहज हुने उनको बुझाइ छ ।
नेकपाको ९ सदस्यीय सचिवालयको अंक गणित भने कहिले कुन पक्ष त कहिले कुन पक्षमा झुकिरहन्छ ।
पछिल्लो समय सचिवालयको समीकरण ओलीको पक्षमा रहेको अनुमान छ । पार्टी उपाध्यक्ष वामदेव गौतमले ओली प्रधानमन्त्री र अध्यक्ष दुवै रहिरहने गरी ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीको पक्षमा ९ मध्ये ५ जना रहेको देखिन्छ ।
नेकपा सचिवालयमा अहिले त अवस्था यस्तो छ कि वामदेव जता, समीकरण उतै । वामदेव यताउता गरिरहेकै छन् ।
वामदेवको ६ बुँदे प्रस्तावपछि ओलीले सुरक्षित महसूस गरेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलवार वामदेवलाई भेट्न भैंसेपाटी पुगे ।
भेटमा प्रचण्डले 'ओलीले जे गरेपनि सहिरहने हो ?' भनेर वामदेवलाई सोधेको चर्चा छ ।
वामदेवलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवलयको निर्णय ओलीले अस्वीकार गरेदेखि नै नेकपा विवाद उत्कर्षतर्फ लागेको थियो ।
तर, यसबीचमा वामदेवले नै अप्ठ्यारोमा २ पटक ओलीलाई काँध थापिसकेका छन् ।
नेकपा विवाद समाधानका लागि भनेर दुई अध्यक्षबीच पटक-पटक वार्ता भएको छ ।
कहिले एक्लाएक्लै त कहिले साक्षी राखेर वार्ता भइरहेका छन् ।
आजसम्मको वार्तामा सहमतिको कुरा भएको एउटै दिनमात्र थियो, जुन दिन अर्ली महाधिवेशनको प्रस्ताव आएको थियो ।
अन्य वार्ता भने एकअर्काविरुद्ध तीतो पोख्ने, गुनासो गर्ने र अडान राख्नेमै सीमित छन् ।
विशेष गरी ओली आफ्नो अडानमा टसको मस भएका छैनन्, बरू भाषा भने समयअनुसार फेरिएको छ ।
पहिला केही वार्तामा ओलीको अडान हुन्थ्यो– 'अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ, बाँकी के गर्न सकिन्छ, छलफल गरौं ।'
केही दिनमा अडानको भाषा थोरै फेरियो, उनले भन्न थाले– 'अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिनँ, सकेको गर्नुस् ।'
यसबीचमा केही वार्ताहरूमा त ओलीले धम्की पनि दिएको चर्चा प्रचण्ड-माधव नेपाल खेमामा छ ।
उनले भनेछन्, 'मलाई झापड हान्न नआउनुस्, जिस्क्याइरहे बस्ने कुर्सी नै भाँचिदिन्छु ।'
जसलाई संसद् विघटन, मध्यावधि निर्वाचन लगायतका प्रक्रियामा जान्छु भन्न खोजेको संकेतका रूपमा बुझ्न सकिन्छ ।
अहिले वामदेवको छ बुँदेपछि ओलीको अडानको भाषामा थोरै परिमार्जन भएको छ ।
स्रोतका अनुसार उनले भन्न थालेका छन्– 'सचिवालय बैठक बोलाऊँ, त्यहीँबाट निर्णय गरेर अनुमोदनका लागि मात्र स्थायी कमिटीमा जाऔं ।'
प्रचण्डले भने स्थायी कमिटी बैठक जारी रहेकाले त्यहीँ छलफल गरेर टुंग्याउनुपर्ने बताउने गरेको खुमलटार स्रोतले जानकारी दियो ।
नछुटाउनुस्, यो पनि :
ओलीलाई भेट्दा प्रचण्डले किन राख्न थाले झलनाथ साक्षी ? रोचक छ कारण