पढाकु मन्त्री नै लगाउँदैनन् मास्क

पढाकु मन्त्री नै लगाउँदैनन् मास्क

काठमाडौं । ओली सरकारका मन्त्रीमध्ये घनश्याम भुसाल सबैभन्दा पढाकु र विद्वान् मन्त्री मानिन्छन् । तर उनले कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको हेक्का राखेका रहेनछन् ।

साउन २३ गते केन्द्रीय रिफरल पशु चिकित्सालयको नवर्निमित भवन र राष्ट्रिय खोप उत्पादन प्रयोगशाला उद्घाटन समारोहमा उनले मास्क लगाएको देखिएन ।

सर्वसाधारणलाई मास्क नलगाई हिँडेमा प्रहरीले एक सय रुपियाँ जरिवाना गर्दै आएको छ भने सरकारका मन्त्री सार्वजनिक कार्यक्रममा मास्क नै नलगाईकन गजधम्म बसिरहेका देखिन्छन् । उनको वरिपरि मास्क समेत देखिँदैन । मन्त्री नजिकै बसेका कोटधारी भलाद्मीले पनि मास्क लगाएका छैनन् ।

पूर्वसचिव भीम उपाध्यायले यो फोटो पोस्ट गरेपछि फेसबुकमा मन्त्री भुसालमाथि व्यंग्य र खिसीट्युरीको वर्षा भइरहेको छ । फुयाल प्रकाशले टिप्पणी गरेका छन्, 'यिनीमाथिको भरोसा पनि यो सरकारले बेसारपानीमा बगाइदियो ।'

दीपक बमले झटारो हानेका छन्, 'कारोनासँग यिनको सेटिङ छ जस्तो छ ।' धनबहादुर तामाङले लेखेका छन्, 'कोरोनालाई त उहाँका वाद र सिद्धान्तको व्याख्याले ध्वस्त बनाइदिन्छन् रे त ।' सन्देश केसीले कटाक्ष गरेका छन्, 'उहाँ हेभी मेटल सुनाएर कोरोनालाई कक्रक्क पार्ने ल्याकत राख्ने माननीय हुनुहुन्छ ।'