पार्टी एकता जोगाउन भन्दै नेकपाका ६१ सांसदद्वारा हस्ताक्षर सार्वजनिक

पार्टी एकता जोगाउन भन्दै नेकपाका ६१ सांसदद्वारा हस्ताक्षर सार्वजनिक

काठमाडौं । नेकपा पार्टी एकता जोगाउन भन्दै ६१ जना सांसदले हस्ताक्षर गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल तीनै पक्षका सांसदहरुले हस्ताक्षर गरी सिंहदरवारमा आइतबार सार्वजनिक गरेका हुन् ।

विधानबमोजिमका विधिरपद्धति अनुरुप पार्टी चलाउनु पर्ने भन्दै प्रतिनिधसिभाका नेकपा सांसद्हरु सक्रिय भएका हुन्। कार्यक्रमको सुरूमा बोल्दै सांसद रामकुमारी झाँक्रीले अहिले शीर्ष नेताहरूका गतिविधि हेर्दा नयाँ पुस्ताले सुदृढ पार्टी नपाउने शंका बढेको बताइन्।

‘अहिले नेताहरूको जस्ता गतिविधि गरिरहनु भएको छ, त्यसले उहाँहरू हामीलाई सुदृढ पार्टी दिनुहुन्छ कि खरानीमात्र बुझाउनु हुन्छ भन्ने शंका बढेको छ,’ सांसद झाँक्रीले भनिन्,‘तपाईंहरू एकअर्कामा विरोध गर्नुभन्दा पुस्ता हस्तान्तरणतिर लाग्नुस्।’

‘हामीले पार्टी एकता जोगाउन पत्रकार सम्मेलन नगरी नेतृत्वलाई सहमतिमा अघि बढ्न दबाब दिएका छौ,’ सांसद् मेटमणि चौधरीले भने, ‘अहिलेसम्म संकलन भएका ६१ जनाको सांसदको हस्ताक्षर अध्यक्ष र महासचिवलाई बुझाउँछौ।’

आफ्नो गुटको स्वार्थमा लागेर पार्टी विभाजन गर्न नहुने सन्देश दिन हस्ताक्षर संकलन गरिएको चौधरीले बताए।