नेपाली कांग्रेस पार्टी र तत्कालीन राजा महेन्द्रको बीचमा दल प्रधान रहने 'बहुदलीय व्यवस्था' कि व्यक्ति प्रधान रहने 'निर्दलीय व्यवस्था' भन्ने विषयमा गहिरो र गम्भीर आधारभूत वैचारिक र राजनीतिक मतभेद थियो । 'निर्दलीय पञ्चायती व्यवस्था' को अन्त्यका लागि नेपाली कांग्रेसले ३० वर्ष लामो अनवरत संघर्ष गरेर सफल भएको तथ्य सर्वविदितै छ र नेपालको इतिहास यसको साक्षी रहेको छ ।
नेपाली कांग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, मंगलादेवी सिंह र नोना कोइराला लगायतदेखि वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सम्पुर्ण नेता तथा कार्यकर्ताले जेल, नेल र प्रवास लगायत अनेकौं यातना सहेर पनि दल प्रधान रहने 'बहुदलीय व्यवस्था' को लागि आजीवन संघर्ष गरिरहनु भयो तर व्यक्तिप्रधान रहने 'निर्दलीय व्यवस्था' लाई कहिल्यै पनि स्वीकार गर्नु भएन ।
दल प्रधान रहने 'बहुदलीय व्यवस्था' को बहालीका लागि भएको संघर्षमा सदा स्मरणीय महान् शहीदहरुले आफ्नो जीवन बलिदान दिएको तथ्य जगजाहेर नै छ।
यसैले 'व्यक्ति प्रधान रहने' कि 'दल प्रधान रहने' भन्ने राजनीतिक पद्धतिको मुद्दा केवल हल्का टिप्पणीको विषय होइन, यो अत्यन्त गम्भीर र गहन विषय हो । यो नेपाली कांग्रेसको आदर्श र बहुदलीय लोकतन्त्रको आधारभूत मूल्य र मान्यतासँग अटुटरुपले प्रत्यक्ष जोडिएको वैचारिक र राजनैतिक मुद्दासँग सम्बन्धित विषय हो । नेपाली कांग्रेसले बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई आफ्नो आदर्शका रुपमा सदैव अंगीकार गरेको छ ।
राजनीतिक प्रतिस्पर्धा वा कसैप्रतिको सदभाव वा दुराग्रह वा अन्य कुनै पनि व्यक्तिगत लोकप्रियताको लालसा वा प्रतिस्पर्धालाई केन्द्रबिन्दुमा राखेर हस गर्दा पनि के हामीले बहुदलीय लोकतन्त्रको आधारभूत मूल्य र मान्यतालाई बिर्सन वा बंग्याउन मिल्छ र ? के हामीले कुनै पनि सजिलो वा अत्यन्त कठिन कालखण्डमा पनि बहुदलीय लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको राजनीतिक पद्धतिलाई बेवास्ता गर्न मिल्छ र ? के हामीले महान शहीदहरुको जीवनको बलिदानलाई बिर्सन मिल्छ र ? पक्कै पनि मिल्दैन ।
लोकतन्त्रिक राजनीतिमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धीलाई के हामीले सम्मान गर्नु पर्दैन र ? के हामीले उच्चकोटिको राजनीतिक संस्कार, सदभाव र लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नु पर्दैन र ? के राजनीतिक न्याय र राजनीतिक सुरक्षा प्रदान गर्नु पर्दैन र ? हामीले कस्तो राजनीतिक संस्कार बसाल्दै छौं, त्यो हाम्रो सोच, क्रियाकलाप र व्यवहारमा निर्भर गर्दछ ।
लोकतन्त्रमा आफूसँग सहमति राख्नेहरुको मात्र होइन, असहमित राख्नेहरुलाई पनि सम्मान, संरक्षण र सुरक्षा गर्नु पर्दछ ।
२०४६ साल चैत २६ गते अगाडिसम्म नेपाली कांग्रेस 'प्रतिबन्धित' अवस्थामा थियो र ने. कां. (नेपाली कांग्रेस) लाई त्यसबेला प्र. ने. का. (प्रतिबन्धित नेपाली कांग्रेस) लेखिन्थ्यो।
२०४६ सालअघि 'राजनीतिक दल' हरु प्रतिबन्धित रहेको कठिन समयमा पनि नेपालमा मुख्यतया तीन 'विचारधारा' हरुको बारेमा राजनीतिक र वैचारिक बहस हुन्थ्यो ।
१. 'व्यक्ति' लाई केन्द्रबिन्दुमा राखेको दलविहीन 'निर्दलीय पञ्चायती व्यवस्था' को विचारधारा ।
२. 'सर्वहाराको अधिनायकत्व' लाई प्रमुख ठान्ने 'जनवादी' वा 'साम्यवादी' कम्युनिष्ट विचारधारा।
३. 'बहुदलीय व्यवस्था' लाई प्रधान मान्ने 'बहुलवादमा आधारित बहुदलीय प्रजातन्त्र' लाई आत्मसात गरेको नेपाली कांग्रेसको विचारधारा ।
२०४६ सालको जनआन्दोलन पनि मुख्यत: निर्दलीय व्यवस्थाको अन्त्य हुनुपर्दछ, दलहरुमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्दछ र बहुदलीय व्यवस्थासहितको प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली हुनुपर्दछ भन्ने मुख्य माग राखी सुरु भएको थियो ।
२०४६ चैत २६ गते 'जनआन्दोलन' सफल भई 'निर्दलीय पञ्चायत व्यवस्था' समाप्त भएको दिनबाट नै आम नेपाली जनताले तलका यी दुई विचारधारालाई अस्वीकार गरिदिएका थिए ।
१. 'व्यक्ति' लाई केन्द्रबिन्दुमा राखेको दलविहीन 'निर्दलीय पञ्चायत व्यवस्था' को विचारधारा ।
२. 'सर्वहाराको अधिनायकत्व' लाई प्रमुख ठान्ने 'जनवादी' वा 'साम्यवादी' कम्युनिष्ट विचारधारा ।
साथसाथै 'बहुदलीय व्यवस्था' लाई प्रधान मान्ने बहुलवादमा आधारित 'बहुदलीय प्रजातन्त्र' लाई आत्मसात गर्ने नेपाली कांग्रेसको विचारधारालाई आम नेपालीले जनआन्दोलनमार्फ़त सहर्ष अंगीकार र अनुमोदन गरेका थिए ।
आज पनि यी राजनीतिक विचारधारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालको राजनीतिमा जीवित नै छन् । नेपालमा आज पनि यदाकदा यी विचारधाराहरुको बीचमा मौन राजनीतिक संघर्ष हुने गरेको जस्तो पनि देखिन्छ ।
भिन्नभिन्न राजनीतिक परिवेशमा जन्मिएको र फरक फरक राजनीतिक विचारधारा र उद्देश्य रहेको नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बीचमा आजसम्म पनि राजनीतिक र वैचारिक मतभिन्नताहरु कायम नै छ र भावी दिनहरुमा पनि कायम नै रहन्छ ।
यसैले, नेपाली कांग्रेसभित्र यसको सक्कली विचारधारा 'बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक व्यवस्था' को विचारधारा नै हाम्रो विचारधारा हो । भन्नैपर्ने के हो भने
यतिबेला 'आफू' र 'आफ्ना' लाई अन्य 'पद' हरु सुरक्षित गर्ने 'बार्गेनिङ' का लागि 'सभापति' पदको 'उम्मेदवारी'को दाबेदारी नगरौं । 'सभापति' पदको उम्मेदवार हुन 'भावना' र 'शुभ कामना' मात्र पर्याप्त हुँदैनन्, 'आँट' र 'भोट' पनि चाहिन्छ।
लाखौं 'मतदाता'को नजरमा 'मतदान' गर्नु अघि सबैभन्दा पहिले 'अनुहार' नजर आउने भएको भए, कुनै एक जना प्रभावशाली र लोकप्रिय 'नेता' को नेतृत्वमा समान तहको 'चुनाव' लडेका सबै 'उम्मेदवार'हरुले जित्ने थिए होलान् । उनीहरुमध्ये कसैले पनि निर्वाचन हार्ने थिएनन् होला । तर, यस्तो विरलै हुन्छ होला । लोकतन्त्रमा संभवत: यस्तो हुँदै हुँदैन ।
यसैले, कुनै पनि 'निर्वाचन' सदैव 'अनुहार', 'जात', 'पैसा' र 'समुदाय' को बलमा मात्र जित्न सकिन्दैन । बहुदलीय संसदीय लोकतन्त्रमा आम जनतामा 'संगठन'को 'सम्बन्ध', 'प्रभाव' र 'लोकप्रियता'को आधारले नै 'निर्वाचन' जितिन्छ, एक्लो ब्यक्तिको प्रभाव 'कम' असरदार हुन्छ । अनुहार सहायक हुन सक्छ, प्रमुख होइन।
कुनै एक जना 'व्यक्ति' जतिसुकै प्रभावशाली र लोकप्रिय भए पनि उसले मात्रै एक्लै 'आमूल परिवर्तन' वा 'क्रान्ति' गर्न धेरै गाह्रो हुन्छ । 'व्यक्ति' भन्दा पनि प्रभावशाली 'नीति', 'विचार' प्रधान, प्रभावकारी 'विधान', लोकप्रिय 'व्यवहार' हुनुपर्दछ ।
साथै 'म' मात्र भन्ने होइन, 'हामी' भन्ने पवित्र 'सामुहिक भावना' र सम्मानित 'समान व्यवहार' हुनु पर्दछ।
गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।