काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ । तीन दिनदेखि अविच्छिन्नरूपमा बस्दै आएको कार्यदलको बैठक आज पनि दिउँसो तीनबजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
स्रोतका अनुसार कार्यदलले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँडलाई विधानमा व्याख्या गर्नेदेखि, एकता महाधिवेशनको तयारी, मन्त्रिपरिषद् पुनःगठन, संवैधानिक नियुक्ति, मुख्यमन्त्री हेरफेरसम्मका विषयमाथि छलफल गरिरहेको छ ।
त्यसैगरी कार्यादलले महाधिवेशन चैतको पहिलो सातामै गर्न अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिने भएको छ । शीर्ष नेताहरुको कार्यविभाजनबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।
विवादित विषयमा सहमति जुटाउन गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य छन् ।