काठमाडौं । नेकपामा लामो समयदेखि जारी विवाद समाधानउन्मुख हुँदा पार्टीभित्र केही समययताको आन्तरिक समीकरणमा पनि फेरबदल हुने संकेत देखिएको छ ।
एकअर्कालाई भित्तैमा पुर्याउने रणनीति अख्तियार गरेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' पुन: एक ठाउँमा आइपुगेका छन् ।
अर्कातर्फ प्रचण्ड र माधव नेपाल पक्षबीचको समीकरण भने संकटमा परेको छ ।
पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले १७ बुँदे सुझाव अध्यक्षद्वय ओली र प्रचण्डलाई बुझाइसकेको छ ।
महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले पार्टीभित्रका विवादका विषयहरू समाधानका लागि १७ पृष्ठमा १७ वटै बुँदा समेटिएको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा महाधिवेशन केन्द्रित हुने कुरा मुख्यरूपमा समेटिएको छ ।
आगामी चैतमा पार्टीको एकता महाधिवेशन गर्ने गरी अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मा दिने तथा अर्का अध्यक्ष ओलीले पाँचै वर्ष सरकार चलाउने कुरा कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
यसलाई नेकपामा कतिपयले घुमिफिरी रुम्झाटार भनेका छन् ।
यस्तै सहमति दुई अध्यक्षबीच मंसिर ४ मा पनि भएको थियो । तर, ओलीले आफूलाई अनावश्यक रूपमा पेल्न र अपमानित गर्न खोजेको महसूस गरेपछि प्रचण्डले उक्त सहमतिलाई आफ्नो कमजोरीका रूपमा व्यख्या गरेका थिए ।
पार्टी एकताको समयमा भएको आलोपालोको सहमतिलाई छाडेर आफूले गल्ती गरेको महसूस भएको कुरा प्रचण्डले पटक-पटक गरेका थिए ।
यति लामो विवद र अहिले देखिएको सहमतिको पूर्व संकेतलाई हेर्दा यो विवाद सबैभन्दा बढी ओली-प्रचण्ड तिक्तताकै कारण सिर्जना भएको थियो भन्न बुझ्न कठिन पर्दैन ।
दुई अध्यक्षले एकअर्कालाई पेल्ने र भित्तैमा पुर्याउने रणनीति अख्तियार गर्दा पार्टी झण्डै-झण्डै दुर्घटनाको मुखमा पुगेको थियो ।
ओली-प्रचण्ड स्वभावैले जुनसुकै हदसम्म पनि जानसक्ने नेताका रूपमा परिचित छन् । आवश्यक पर्दा अति नै लचक पनि हुने र उस्तै परिस्थिति आए हद नै पार गर्न पनि पछि नपर्ने ।
शुरूमा राष्ट्रिय राजनीतिको दुई फरक ध्रुवमा रहेका ओली र प्रचण्डबीच सहकार्यको वातावरण र पार्टी एकता उनीहरूको यही स्वभावका कारण सम्भव भएको थियो ।
प्रचण्डले यसलाई निरन्तरतामा क्रमभंगता भन्ने गर्छन् । उनी निकटस्थहरूले प्रचण्डलाई 'डायनामिक' नेता भने पनि आलोचकहरूले भने बोलीको ठेगान नभएको पनि भन्ने गरेका छन् ।
जे होस्, प्रचण्ड समयअनुसार आफूलाई ढाल्न खप्पिस छन् ।
कुरा गरौं मूल विषयवस्तुमै ।
विवादका कारण पार्टी नै धरापमा परिसकेका बेला केही साताअघि एउटा आशाको किरण देखियो ।
दुई अध्यक्षबीचको वार्तामा अर्ली महाधिवेशनको प्रसंग उठ्यो ।
अर्ली महाधिवेशनमा प्रचण्डलाई अध्यक्षमा सघाउने प्रस्ताव ओली पक्षबाट आयो । प्रचण्डले सहमति पनि जनाए ।
सोही अनुसार दुई अध्यक्ष सचिवालय बैठकमा सहमतिको भावमा प्रस्तुत भए ।
नेकपामा ओली प्रधानमन्त्री र अध्यक्ष दुवै रहनेगरी सहमतिको संकेत देखिएको भन्दै ओली पक्ष खुसी भइसकेको थियो ।
त्यति नै बेला कुराकानीका क्रममा ओली पक्षका एक नेताले भनेका थिए– 'प्रचण्डलाई फकाउन निकै सजिलो ।'
यसबीचमा पूर्व एमाले एक हुने भनेर माधव नेपाललाई फकाउन पनि प्रयास नभएको होइन, तर सम्भव भएन ।
जतिसुकै विवाद र तिक्तता भएपनि प्रचण्डसँग मिलेर जान ठीक हुने उनको भनाइ थियो ।
तर, जबजको प्रसंगलाई लिएर त्यतिबेला ओली-प्रचण्ड सम्बन्ध फेरि बिग्रियो ।
केही दिन त दुई नेताले एक्लाएक्लै पनि भेटेनन् ।
अन्तत: पुन: एक्लाएक्लै भेटेपछि सहमतिको सूत्र भेटियो ।
ती नेता अहिले पनि आफ्नो भनाइमा अडिग छन्, 'प्रचण्डलाई नै फकाउन सजिलो ।'
जे होस्, नेकपामा सहमति सन्निकट छ । यसको मुख्य आधार नै ओली र प्रचण्डबीच बनेको विश्वासको वातावरण रहेको स्रोत बताउँछ ।
यसले पनि के देखाएको छ भने नेकपा एकता जोगाउने हो भने ओली-प्रचण्डबीच सहकार्य जारी रहनैपर्ने परिस्थिति छ ।
'एकअर्कालाई पेलेर अघि बढ्न खोज्दाको परिणाम उहाँहरूले देखि नै हाल्नुभयो,' प्रचण्ड निकट एक नेता भन्छन्, 'अब दुई अध्यक्ष मिलेर अघि बढ्नुको विकल्प नै छैन ।'
पार्टी एकताको मूल स्प्रिट पनि यही भएको उनको जिकिर छ ।
पढ्नुहोस्, यो पनि :