काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानउन्मुख रहेका बेला एउटा पुरानै विवाद बल्झिँदा समस्या उत्पन्न भएको छ ।
राष्ट्रिय सभामा रिक्त एक सदस्यमा कसलाई मनोनयन गर्ने भन्ने विवादले नेकपामा पुन: समस्या निम्तिएको छ ।
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी पार्टीले गत फागुनमै गरेको निर्णयलाई आजसम्म अटेरी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: त्यसलाई नमान्ने बताएका छन् ।
अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनयन गर्ने उनको अडान छ ।
राष्ट्रिय सभामा २ वर्षे कार्यकाल सकिएपछि ६ महिनाका लागि दोस्रोपटक अर्थमन्त्री बनेका खतिवडाको कार्यकाल यही भदौ २० गते सकिँदैछ । २० गतेसम्ममा संघीय संसद्को सदस्य नबनेमा खतिवडाको मन्त्री पद संविधानत: निष्क्रिय हुनेछ ।
१८, १९ र २० गते तीन दिन नेकपा विवादमा निकै महत्त्वपूर्ण छन् । यी ३ दिनले नेकपाको नयाँ विवाद टुंगिने कि बल्झिने निर्धारण गर्नेछ ।
पहिले प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन नगरेसम्म राष्ट्रिय सभामा नजाने अडान लिएका उपाध्यक्ष गौतम अहिले भने संविधान संशोधनविनै राष्ट्रिय सभामा जान तयार छन् ।
नेकपाको चुनावी घोषणापत्रका मस्यौदाकार समेत रहेका गौतमले त्यसलाई कार्यान्वयन गर्न आफू उपप्रधानसहित अर्थमन्त्री बन्ने इच्छासमेत पार्टीका दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेरै व्यक्त गरिसकेका छन् ।
प्रचण्ड गौतमलाई राष्ट्रिय सभामा लैजाने पक्षमा छन् भने ओलीले खतिवडाको पक्षमा अडान राखिरहेका छन् ।
पार्टी विवादको मुख्य जड बनेका खतिवडा सरकारको अलोकप्रियताका पनि कारण रहेको नेकपा नेताहरू बताउँछन् ।
खतिवडाले ल्याएका ३ मध्ये कुनैपनि बजेट अहिलेसम्म आलोचनामुक्त रहन सकेका छैनन्, बरू पार्टीकै नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।
खतिवडाले ल्याएको पछिल्लो बजेटको पनि तीव्र आलोचना भयो । बजेटले लगाएको घाउमा केही हदसम्म राष्ट्रय बैंकको मौद्रिक नीतिले मलम लगाएको छ ।
यो तीन दिन नेकपा पार्टीको भविष्यका लागि पनि निकै महत्त्वपूर्ण बनेका छन् ।
प्रतिनिधि सभामा लाने आश्वासन !
पार्टी विवादको जटिल मोडमा ओलीलाई साथ दिएका गौतमले भने ओलीबाट आश्वासन शिवाय केही पाएका छैनन् ।
पछिल्लो विवादमा पनि ओलीले गौतमलाई प्रतिनिधि सभामा लगेर प्रधानमन्त्री बनाउने आश्वासन दिए ।
उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने भनी पार्टी सचिवालयले निर्णय गर्यो, तर त्यो उपयुक्त समय कहिले आउने निधो छैन ।
अहिले फेरि ओलीले डोल्पाबाट प्रतिनिधि सभा चुनाव लडाउने आश्वासन दिएका छन्, तर यो ३ दिनको संकट टार्ने अस्त्र मात्रै रहेको नेकपाकै नेता बताउँछन् ।
'खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन पाए यस्ता आश्वासन घाममा सुकाइन्छन्,' नेकपाका एक नेता भन्छन्, 'प्रधानमन्त्रीबाट वामदेव कमरेडलाई दिइँदै आएका आश्वासनका हविगत यही हो ।'