देउवासँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : डा कोइराला

देउवासँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : डा कोइराला

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् ।  बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको  कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह गरे । 

कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्ने बताए । महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको धारणा व्यक्त गरे । 

साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताए।