काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेटवार्तामा मन्त्रिपरिषद् पुर्नगठन, बिहीबार बस्ने सचिवालय बैठक र शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे छलफल हुनेछ ।
नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने स्रोतले बताएको छ । मन्त्री परिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् ।
दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए । प्रचण्ड भने खाली ३ मन्त्रालयसहित कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई फेरबदल गर्ने पक्षमा छन् ।