काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकबाट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको २० मिनेटमै ओली बाहिरिएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै बाहिरिएका हुन् । असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ । बैठकमा नेकपा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुने जनाइएको छ ।
पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् । सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना छ ।