नेकपा विवाद मिलेको भनिँदा पनि अलपत्र पर्‍यो माधव नेपालको यो एउटा माग !

नेकपा विवाद मिलेको भनिँदा पनि अलपत्र पर्‍यो माधव नेपालको यो एउटा माग !

काठमाडौं । ‘पार्टी विधानको धारा ४६(क) अनुसार सबै तहमा र सबै व्यक्तिको हकमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ र यसो गर्दा मात्र विशाल पार्टीमा कामको सन्तुलन हुन्छ, धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवं नेतृत्व समेत विकास हुन्छ,’ लामो समय अनिर्णयको बन्दी बनेको नेकपा स्थायी कमिटी बैठक समापनका दिन शुक्रवार नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पेश गरेको १७ बुँदे धारणाको चौथो बुँदामा भनिएको छ ।

पार्टी विवाद समाधान भएको भनिएका बेला माधव नेपालको मन भने बुझ्न सकेको छैन । उनले लामो समयदेखि उठाउँदै आएको एउटा महत्त्वपूर्ण माग सुनुवाइ भएन ।

पार्टी एकतायता नेपालले पटक–पटक भन्दै आएका छन्, एक व्यक्ति एक पद हुनुपर्छ । उनको भनाइको मुख्य सार यो हो कि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्छ ।

माधव नेपालको माग ओलीका लागि यति भारी पर्‍यो कि जसले पार्टीलाई नै झण्डैझण्डै फूटको मुखमा पुर्‍यायो । प्रचण्डको समेत साथ पाउँदा माधव नेपालको मागले निकै जोडतोडको स्थान पाएको थियो ।

प्रचण्डको असन्तुष्टि माधव नेपालको भन्दा फरक थियो । उनले अर्का अध्यक्षको कार्यशैलीलाई मुख्य समस्याको रूपमा देखेका थिए । जे होस्, प्रचण्ड–माधव एक ठाउँमा हुँदा ओलीलाई अप्ठ्यारो परेकै हो ।

अन्ततः ओली–प्रचण्ड फेरि मिलेका छन् । माधव नेपालको माग अलपत्र परेको छ । ओलीले निर्धारित कार्यकाल अध्यक्ष र प्रधानमन्त्री रहिरहन पाउने भएका छन् । यो एक हदसम्म उनको जित नै हो ।

प्रचण्डले मंसिर ४ को सहमति अनुसार पार्टी अध्यक्षका रूपमा काम गर्ने सम्पूर्ण कार्यकारी अधिकार पाएका छन् । लिखित रूपमै व्याख्या गरेर प्रचण्डलाई कार्यकारी अधिकार दिइएको छ, उनले खास चाहेकै यही थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा उनीपक्षीय नेताबाट प्रचण्डमाथि बारम्बार भइरहेको आक्रमणको श्रृंखला रोकिएको छ । यसले पनि प्रचण्डलाई केही राहत दिएको छ ।

प्रचण्डलाई केही राहत मिलेपनि सारमा जीत भने ओलीकै भएको नेकपाका एक नेता बताउँछन् ।

‘नेकपा विवादको पछिल्लो श्रृंखलामा जीत ओली कमरेडकै भएको मान्नुपर्छ, उहाँ अध्यक्ष र प्रधानमन्त्री दुवैमा कायम रहन पाउनुभयो, यो नै सबैभन्दा ठूलो जीत हो,’ ती नेताले भने, ‘प्रचण्ड कमरेडले पनि केही राहत महसूस गर्नुभएकै छ, अलपत्र परेको भनेको माधव कमरेडको माग हो ।’

सम्भवतः महाधिवेशनसम्म माधव नेपालको यो मागले अब त्यतिधेरै स्थान पाउने छैन । महाधिवेशन चैतको अन्तिम साता गर्ने भनिएको छ, तर महामारीको अवस्था के हुन्छ अझै भन्न सकिने अवस्था छैन ।

जे होस्, ओलीको खड्को भने मज्जैसँग टरेको छ ।