काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।
कोभिड– १९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई हिजो (मंगलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
उनका अनुसार महामन्त्री डा. कोइरालाको अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।
“अस्पताल आएदेखि नै हामीले आमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।”
उनका अनुसार महामन्त्री डा. कोइरालालाई निमोनिया भएको छ ।
महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए ।
केही दिनअघि महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।