काठमाडौं । बर्दियाबाट झिनो मतले चुनाव हारेपछि 'विक्षिप्त' जस्तै रहँदै आएका वामदेव गौतम अन्तत: सांसद बनेका छन्, त्यो पनि ६ वर्षे कार्यकालका लागि ।
राष्ट्रपतिले मनोनित गर्ने ३ मध्ये रिक्त एक कोटामा वामदेव गौतमलाई मनोनित गरिएको हो । गोला प्रथामा २ वर्षे कार्यकाल परेका युवराज खतिवडाको बिदाइपछि उक्त सिट खालि थियो ।
झण्डै २ तिहाइ सांसद रहेको सत्तारुढ दलबाट मनोनित कोटामा सांसद बन्न पनि वामदेवलाई फलामको चिउरा चपाउनुसरह गाह्रो भयो ।
यसअघि फागुनको दोस्रो साता पार्टी सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिए ।
रिक्त १९ मध्ये १८ सिटका लागि केही समयअघि भएको चुनावमा नारायणकाजीसँगै सांसद बन्न प्रस्ताव गर्दा प्रधानमन्त्री बन्ने ग्यारेन्टीसहित मात्र राष्ट्रिय सभामा जाने बताएका वामदेव एकाएक संविधान संशोधनविनै सांसद बन्न तयार हुनुलाई प्रधानमन्त्री ओलीले शंकाको नजरले हेरेका थिए । अर्कोतर्फ तत्कालीन अर्थमन्त्री युवराज खतिवडाप्रति प्रधानमन्त्री ओलीको मोह पनि बुझिनसक्नुको थियो ।
पार्टीको निर्णयलाई प्रधानमन्त्री ओलीले चुनौती दिएपछि उत्कर्षमा पुगेको नेकपा विवाद महिनौंसम्म तन्कियो । अन्तत: विवादलाई थामथुम पारिएको छ र वामदेव पनि सांसद बनेका छन् ।
यसपटक सांसद बन्ने क्रममा वामदेवले अर्थमन्त्री बन्ने इच्छा प्रकट गरेका थिए । आफूले लेखेको चुनावी घोषणा पत्रअनुसार काम गर्नका लागि उपप्रधान तथा अर्थमन्त्री बनेर सरकारमा जाने चाहना वामदेवले राखेका छन् ।
महाधिवेशनमा सघाएर पार्टी अध्यक्ष, संसदीय दलमा सघाएर प्रधानमन्त्री तथा अप्ठ्यारो परेका बेला साथ दिएर पद जोगाउन ओलीलाई काँध दिँदै पटक-पटक गुन लगाएका वामदेवलाई ओलीले भने गुन तिर्न कन्ज्युस्याइँ गर्ने गरेको बुझाइ वामदेवको छ ।
यसपटक उपप्रधान तथा अर्थमन्त्री बन्ने वामदेवको चाहना पनि पूरा हुने सम्भावना न्यून छ ।
प्रधानमन्त्री ओलीले सकेसम्म त अर्थमन्त्रालय आफैं सम्हाल्ने रणनीति बनाएको स्रोतको दाबी छ । त्यसका लागि उनले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिसकेका छन् ।
खतिवडालाई दिइन लागेको भूमिका छायाँ अर्थमन्त्रीको हो ।
'निर्णयहरूमा हस्ताक्षर प्रधानमन्त्री ओलीको चल्ने छ, निर्णयहरू युवराजले ने लिने छन्, अब केही समय हुने यही हो,' नेकपा स्रोतले भन्यो ।
पार्टीमा आफूलाई अप्ठ्यारो नपरी प्रधानमन्त्री ओली वामदेवतर्फ नफर्किने कुरा विगतले नै प्रस्ट्याइसकेको छ ।
'आगामी दिनमा पनि प्रधानमन्त्रीले कुनै बार्गेनिङ गर्नुपर्ने अवस्था आए अलग हो, नत्र वामदेव कमरेडको इच्छा पूरा हुने देखिन्न,' नेकपा स्रोतले भन्यो ।