काठमाडाैं । प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।
झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो ।
खड्का प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेर चर्चामा छिन् । प्रमाण पुर्याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान पेरिसडाँडाबाट पक्राउ परेकी हुन् ।
नेकपाको सचिवालय बैठकमा ‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भनेपछि उनलाई प्रहरीले पक्राउ गरेको स्रोतको दाबी छ । प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ । उनले आफूले अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै बिहीबार मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।