काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ। बैठक स्थगित गर्ने निर्णय गरेर प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । हिजोको बैठकमा वरिष्ट नेताद्धय झलनाथ खनाल र माधव नेपालले हाल वाहालवाला सबै मन्त्रीले राजीनामा दिनुपर्ने बताएपछि थप तयारी गर्नुपर्ने भन्दै सचिवालय बैठक स्थगित गरिएको स्रोतको दाबी छ ।
नयाँ मन्त्रीमा पनि सचिवालय सदस्यहरुबिच सहमति जुटेको छैन । आजको छलफलमा ओली र प्रचण्डले नयाँ मन्त्री छनौटका खाका तयार गरेर भोलि बालुवाटारमा बस्ने सचिवालय बैठकमा पेश गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीबारे पनि ओली र प्रचण्डबीच छलफल हुने बताइएको छ ।
यता पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा लाने या नलाने भन्ने विषयमा पनि सहमति जुटेको छैन । प्रधानमन्त्री ओली गौतम र श्रेष्ठ दुबैजना प्रतिनिधिसभा निर्वाचन हारेकोले उनीहरुलाई सरकारमा लानु उचित नहुने बताउँदै आएका छन् ।
प्रचण्ड, खनाल र नेपाल भने गौतम र श्रेष्ठलाई सरकारमा लानुपर्ने मत राख्दै आएका छन् । यसबारेमा पनि ओली र प्रचण्डबीच आज थप छलफल हुने बताइएको छ । यसअघि आइतबारको बैठकमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो।