सर्वोच्चका न्यायाधीश संक्रमित भएपछि वामदेवको मुद्दाको सुनुवाई आज नहुने

सर्वोच्चका न्यायाधीश संक्रमित भएपछि वामदेवको मुद्दाको सुनुवाई आज नहुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको मुद्दाको सुनुवाई आज नहुने भएको छ । गौतमको मुद्दाको सुनुवाई आजका लागि तोकिएको थियो तर, आज संवैधानिक इजलास नै तोकिएको छैन । सर्वोच्च अदालतका न्यायाधीश नै कोरोना संक्रमति भएपछि इजलास कटौती गरिएको हो ।

गौतमको मुद्दाका लागि संवैधानिक इजलास गठन गरिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

युवराज संग्रौला, रमण श्रेष्ठ, अधिवक्ताहरु टीकाराम भट्टराई, रविनारायण खनाल, गोविन्द बन्दी, श्याम खरेल, राघवलाल वैद्य, सुशील पन्तले गौतमको पक्षबाट बहस गरेका छन् । गौतमको बहस अझै सकिएको छैन् ।

यही असोज ७ गते न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै विषयको अन्तिम टुङ्गो नलागेसम्म थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेकपा र सांसद गौतमलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेता गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने राष्ट्रपतिको गत भदौ २९ को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्नका लागि अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।