मन्त्रिपरिषद् हेरफेर : रक्षाबाट तानिनु ईश्वर पोखरेलको घटुवा कि बढुवा ?

मन्त्रिपरिषद् हेरफेर : रक्षाबाट तानिनु ईश्वर पोखरेलको घटुवा कि बढुवा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गरे । 

रिक्त मन्त्रालयमा ३ नयाँ मन्त्री नियुक्त गर्दा पुराना दुई मन्त्रीको जिम्मेवारी हेरफेर भयो ।

थपिनेमा अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ छन् ।

उप्रधानमन्त्री ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा तानिएका छन् भने पार्वत गुरुङको सरुवा महिला मन्त्रालयबाट सञ्चारमा भएको छ ।

जिम्मेवारी हेरफेर भएकामध्ये गुरुङले पहिलाभन्दा महत्त्वपूर्ण मन्त्रालय पाएकाले यसलाई बढुवा नै मान्नुपर्‍यो तर मन्त्रालयको जिम्मेवारी खोसिएका ईश्वर पोखरेलको बढुवा कि घटुवा  ?

ईश्वर पोखरेलको बढुवा कि घटुवा भन्नेमा २ थरी तर्क आएका छन् ।

कतिपयले यसलाई घटुवा भनेका छन् । रक्षाजस्तो महत्त्वपूर्ण मन्त्रालय सम्हालेका ईश्वरलाई मन्त्रालयविहीन बनाइनु घटुवा भएको उनीहरूको तर्क छ ।

नेकपाकै एक नेता ईश्वर पोखरेलको घटुवा भएको मान्छन् ।

'विभागीय मन्त्रालयको जिम्मेवारी खोसेर मन्त्रालयविहीन बनाइनु घटुवा नै हो,' ती नेताले भने, 'यसलाई संविधान सभा कालमा बनाइएका विना विभागीय मन्त्रीसँग तुलना गर्न मिल्छ ।'

पोखरेलको पछिल्लो समय सेनासँग सम्बन्ध चिसिएको थियो । प्रधान सेनापतिले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिसकेका थिए ।

फास्ट ट्र्याकको परामर्शदाता छनोट, स्वास्थ्य सामग्री खरिद लगायतमा अनावश्यक दबाब दिएकोमा सेना खुशी थिएन ।

सोही कारण रक्षा मन्त्रालय आफूसँग राखेर प्रधानमन्त्री ओलीले पोखरेललाई मन्त्रालयविहीन बनाएको ती नेताको तर्क छ ।

यता ईश्वर पोखरेल निकट नेता भने यसलाई बढुवाको रूपमा बुझ्छन् ।

'ईश्वर कमरेडलाई प्रधानमन्त्री कार्यालयमा तानेर समग्र मन्त्रालयहरूसँग समन्वय गर्ने जिम्मेवारी दिइएको हो, उहाँ अब एउटा विभागीय मन्त्रीमा मात्र सीमित रहनुभएन,' ओली गुटमा रहेर पोखरेलसँग निकट मानिने एक नेताले भने ।

तर, उनले यसो भने पनि रक्षा मन्त्रालयमै रहेर समेत उपप्रमको रूपमा पोखरेलले यो जिम्मेवारी सम्हाल्न सक्थे । उनलाई मन्त्रालयविहीन बनाइनुलाई घटुवा नै भन्न मिल्ने विश्लेषकहरूको मत छ ।