काठमाडौं । कर्णालीमा देखिएको विवादबारे छलफल गर्न बिहीबार बोलाइएको बैठक बस्न सकेन। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव हालिएपछि त्यसलाई समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीलाई काठमाडौँ बोलाएका थिए।
कर्णाली प्रदेशका पदाधिकारीहरूसँग प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले बेग्लाबेग्लै भेटवार्ता गरिएको बुझिएको छ। प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेकपामा अर्को विवाद जन्मेको छ। नयाँ मन्त्रीहरुको शपथ ग्रहण तथा अध्यक्षद्वयको व्यस्तताको कारणले आजको बस्ने भनिएको बैठक अहिलेसम्म बस्न नसकेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
कर्णालीमा देखिएको विवाद मिलाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पदाधिकारीलाई काठमाडौँ बोलाएका थिए। प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह इन्चार्ज यामलाल कँडेल, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलाबजंग शाह र चन्द्रबहादुर शाहीसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला काठमाडौँ आइपुगेका छन्। उनीहरुसँगको आज पनि वार्ता हुने अनिश्चित भएको छ ।
मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। तर, वरिष्ठ नेता नेपाल पक्ष प्रस्तावबाट पछि हटेपछि विवाद सल्टिसकेको छ।