काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। उनले पार्टी भित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन्।
आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको भेटमा भएको कुराकानीको ब्रिफिङ गरेका थिए। ओलीले अलग भएर जाने प्रस्ताव राखेको प्रचण्डले बताएका थिए। उक्त बैठकमा सहभागी भएका श्रेष्ठले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन दुवै अध्यक्षले एकपटक संवाद गर्नुपर्ने सुझाव दिएका हुन्।
नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताए।
'हामीले के भन्यौं भने हामीले ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो। नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने, समाजिक आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने, समाजवादको आधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो। त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न। हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ' श्रेष्ठले भने, त्यसकारणले अध्यक्ष प्रचण्डले फेरी एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस, बैठक बसौं' pgn] भने 'बैठक राख्ने प्रयत्न गरौं। बैठक राखेर सबैपाटापक्षमा छलफल गरौं, खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं, पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौं भनेर हामीले भनेका हौं।'
प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङ पछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओली बीच कुनै संवाद हुन नसकेको पनि बताए। आइतबार साँझको ब्रिफिङमा ओलीले प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको श्रेष्ठले बताए।