कांग्रेस सांसद केसीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

कांग्रेस सांसद केसीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए ।

तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीका साथै पहिलो संविधानसभामा संविधानसभा सदस्य बन्नुभएको थियो । केसी रारा चाउचाउ, जलविद्युत्लगायत विभिन्न व्यापार व्यवसायमा सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राती १०ः३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु’, उनले भनेका छन् ।