काठमाडौं । पार्टीभित्र देखिएका समस्या समाधान तथा शुक्रवारदेखि शुरू हुने केन्द्रीय समिति बैठकको तयारी स्वरूप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीको बैठक बिहीवार बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानिलकण्ठमा दिउँसो १ बजेका लागि बैठक बोलाएको कांग्रेसका एक नेताले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेका माग सम्बोधन गर्न देउवाले बैठक राखेका हुन् । महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुक्रवारदेखि काठमाडौंमा शुरू हुँदैछ । कांग्रेसले आगामी फागुन ७–१० गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने यसअघि निर्णय गरेको थियो । तर क्रियाशील सदस्यता विवाद तथा अन्य कार्यतालिका प्रभावित भएकाले तोकिएको मितिमा महाधिवेशन नहुने कांग्रेस नेताहरू बताउन थालेका छन् ।
शुक्रवारको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको नयाँ मिति तोकिने सम्भावना रहेको ती नेताले बताए ।