काठमाडौं । नेकपा सचिवालयका ५ जना सदस्य सहभागी सचिवालयको औपचारिक बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीसँग भोलि सामूहिक भेट गर्ने निर्णय गरेको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको शुक्रवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले भोलि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि पार्टी एकतालाई जोगाएर लैजान अनौपचारिक बैठक राख्नुभयो । हामी ५ जनाले भोलि अर्का अध्यक्ष ओलीलाई सहमतिका आधारमा बैठक राख्नका लागि आग्रह गर्ने सहमति गरेका छौं,’ श्रेष्ठले भने ।
शुक्रवारको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।