काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताएका छन् । पहिलो संविधान सभादेखि अहिलेसम्म कम्युनिस्टहरूले नागरिकबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही पनि दिन नसकेको बताए ।
गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले नागरिकलाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताए । पहिलो संविधान सभामा नागरिकले म्यान्डेड दिए पनि संविधान जारी नगरि भङ्ग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको उनको भनाइ छ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए । प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरूमा उनले नै संरक्षण गर्ने काम गरिराखेको बताए।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उनले बताए। कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा नागरिकलाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको उनले बताए । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौँ भन्दै पछि हटेकोसमेत बताए ।