प्रधानमन्त्री ओली पुगे चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का, यस्ता छन् कार्यक्रमहरु

प्रधानमन्त्री ओली पुगे चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का, यस्ता छन् कार्यक्रमहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जिल्लाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का पुगेका छन् । आज बिहान प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा सहित सुरक्षा निकायका प्रमुख र केही उच्च सरकारी अधिकारी सहित त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा उपस्थित भएका हुन् । आजको लागि विशेष कार्यक्रम नभएपनि उनले विभिन्न जलविद्युत परियोजनाको निरीक्षण र विकास आयोजनाहरुका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रमहरु रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आज प्रधानमन्त्री ओली तीन कार्यक्रमहरु तय भएका छन् । सर्वप्रथम ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

त्यस्तै त्यसपछि संखुवासभाको च्याम्ताङ भन्ने ठाउँमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने र त्यहाँका स्थानीय र जनप्रतिनिसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै विराटनगर–किमाथाङ्का सडक निरीक्षण र छलफलपछि प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्नेछन् । ड्यामको निरीक्ष र त्यहाँका स्थानीय जनप्रतिनिधि तथा आयोजना निर्माणका प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै प्रधानमन्त्री ओलीले प्रदेश र प्रतिनिधि सभाका प्रतिनिधिहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विकास योजना तथा परियोजनाहरु निरीक्षण र छलफलको कार्यक्रम रहेपनि कुनै पनि परियोजना उद्घटनको कार्यक्रम भने छैन् । साथै आज नै साढे तीन बजे प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।