काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू वर्तमान सरकारमा सहभागी नहुने बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेपछि उनको उक्त प्रतिक्रिया आएको हो।
सर्वोच्च अदालतको उक्त आदेशपछि उनको मन्त्री बन्ने ढोका खुलेको थियो। तर गौतम अहिलेको अवस्थामा सरकारमा सहभागी हुने पक्षमा नरहेको उनी निकट एक नेताको भनाई छ । यसअघि गौतमले सरकारमा सहभागी भए अर्थमन्त्री पदको लागि दाबी गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव विष्णु पौडेल बनाइ सकेका छन्।
ओलीको कार्यशैलीबाट असन्तुष्ट गौतमले ओलीविरोधी क्याम्प पनि नछाड्ने पनि ती नेताले बताए। सर्वोच्चको उक्त फैसलालाई नेकपाको वर्तमान विवादसँग समेत जोडेर हेरिएको छ। गौतमलाई आफ्नो क्याम्पमा ल्याउन ओलीले उनलाई उपप्रधानमन्त्री बनाउन सक्ने चर्चा समेत छ।
ओलीनिकट नेताहरूले सामाजिक सञ्जालमा त्यस्तै आशयको सन्देश दिएका छन्। तर, गौतमले आफूलाई पटक पटक धोका भएको भन्दै ओली पक्षमा नजाने निकटस्थसँग स्पष्ट पारेको विश्वस्त स्रोतले जानकारी दिएको छ।