वामदेवको ‘ढुलमुले’ चरित्रले तर्सिए प्रचण्ड, बादललाई फकाउँदै

वामदेवको ‘ढुलमुले’ चरित्रले तर्सिए प्रचण्ड, बादललाई फकाउँदै

काठमाडौं । चरम आन्तरिक विवादमा रुमल्लिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले उपाध्यक्ष वामदेव गौतमलाई ‘विश्वास गर्न’ नसक्दा गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को साथ खोज्न थालेका छन् ।

‘पार्टी एकताको पक्ष’ मा उभिँदै र ओली नेतृत्वको सरकार नै यथावत् रहनुपर्छ भन्दै आएका बादलसँग कार्यकारी अध्यक्ष प्रचण्डले आइतबार दुई घन्टा कुराकानी गरे । ओलीले पनि बादलसँग बेला–बेलामा ‘छुट्टै छलफल’ गरी साथ माग्दै आएका छन् । तर, केही दिनयता प्रचण्डले बादललाई लगातार खुमलटार बोलाएर आफूतिर खुल्न आग्रह गरिरहेको स्रोतको दाबी छ ।

तीन दिनअघि दाङ पुगेका बेला उपाध्यक्ष गौतमले ‘आफू कुनै गुटमा नरहेको’ बताएपछि प्रचण्डले आइतबार बिहान बादललाई खुमलटार बोलाए । प्रचण्डले बादलसँग कि आफूतिर नत्र ओलीतिरै खुलेर लाग्नुपर्ने, अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने भनाइ राखे । प्रचण्डको प्रस्तावमा बादलले भने कुनै जवाफ नदिएको स्रोतको भनाइ छ ।

‘उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा पार्नसक्ने कुरामा बालुवाटार र खुमलटार दुवै आश्वस्त हुन नसक्दा खुमलटारले बादलको साथ खोजेको हो’– स्रोतले भन्यो । नेकपाको नौ सदस्यीय सचिवालयमा बादल भने अहिलेसम्म खुलेर कतै पनि लागेका छैनन् ।

‘आइतबार बिहान खुमलटार जानुभएको थियो, अध्यक्ष प्रचण्डले उहाँलाई पार्टी दुईलाइन संघर्षमा गइसकेकाले एकातिर खुलेर लाग्न भन्नुभएको रहेछ,’ बादल निकट स्रोतले भन्यो– ‘उहाँले पार्टी एकता भाँडेर कहीं नपुगिने भन्दै महाधिवेशन आएपछि खुलेर कुरा गरिने तर अहिलेचाहिँ पार्टी एकतालाई बचाएर लैजानुपर्ने दायित्व भएकाले दुवै अध्यक्षले छलफल गरेर अगाडि बढ्दा राम्रो हुने बताउनुभयो ।’

प्रचण्ड र बादलबीच प्रत्येक साता भेटघाट हुने गरे तापनि आइतबार भने अन्य दिनभन्दा लामो कुराकानी भएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।