के नेकपामा अब एकीकृत प्रस्ताव आउँछ ?

के नेकपामा अब एकीकृत प्रस्ताव आउँछ ?

काठमाडाैं । सत्तारुढ नेकपामा दुई अध्यक्षको छुट्टाछुट्टै प्रस्ताव पेस भएपछि अब एकीकृत प्रस्ताव आउँछ कि बहुमत(अल्पमतबाट टुंगो लाग्छ भन्ने प्रश्न उठेको छ । कात्तिक २८ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमा असन्तुष्टि जनाउँदै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको बैठकमा छुट्टै प्रस्ताव पेस गरेपछि नेकपाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । दुवै अध्यक्षको प्रस्तावमा एक अर्कालाई गम्भीर आरोप लगाइएपछि पार्टी एकता कसरी कायम हुन्छ भन्ने कुरामा नेता कार्यकर्ता अलमलमा छन् ।

शनिबारको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव पेस गरेपछि अर्को बैठक मंगलबारको लागि बोलाइएको छ । यसबीचमा नेताहरुले प्रस्ताव अध्ययन गर्ने र मंगलबारको बैठकमा छलफल गर्ने कार्यसूची छ । मंसिर १८ गते स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै अध्यक्षको प्रस्ताव सचिवालय बैठक हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल हुने एकथरी नेताहरु बताउँछन् ।

अर्काथरी नेताहरुले भने दुवै अध्यक्षको प्रस्तावलाई मिलाएर संयुक्त प्रस्ताव आउनुपर्ने र यसको गृहकार्य पनि भैरहेको बताएका छन् । तर एक अर्कालाई गम्भीर आरोप लगाएका दुवै अध्यक्ष तत्काल पछाडि हट्ने अवस्थामा देखिँदैनन् । संयुक्त प्रस्ताव आएन भने दुवै प्रस्ताव स्थायी र केन्द्रीय कमिटीसम्म पुर्याएर बहुमत(अल्पमत प्रक्रियाबाट टुंगो लाग्नेछ । यसो हुँदा पार्टी विभाजनतर्फ जान सक्ने नेता कार्यकर्ताको चिन्ता छ ।