विप्लव नेकपाद्वारा पुस ३ गते बन्दको घोषणा

विप्लव नेकपाद्वारा पुस ३ गते बन्दको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भोलि (पुस ३ गते) बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाका धौलागिरी ब्यूरो इन्चार्ज राजले पार्टीका नेता जगेन्द्र पुन ‘जगत’ को प्रहरी हिरासतको यातनाका कारण बिरामी भएको र उपचार नपाई मृत्यु भएको भन्दै विरोध जनाएका छन् । 

जगतको मृत्युले पार्टीको ध्यानाकर्षण भएको बताउँदै जेल प्रशासनले राजबन्दीको स्वास्थ्यप्रति खेलवाड गरेकै कारण ज्यान गएको इन्चार्ज राजनले बताएका छन् । 'विभिन्न बाहानामा पटकपटक गिरफ्तार, हिरासत र जेल जीवन बिताईरहनु भएका म्याग्दीका लोकप्रिय  कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्यु प्रति हाम्रो पार्टी धौलागिरी व्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारिरिक यातनाका कारण बिरामी भई उपचारकै क्रममा गएको मंसिर २४ गते मृत्यु भएको छ' विज्ञप्तिमा भनिएको छ । 

पर्वत जेल प्रशासनले राजवन्दीको स्वास्थ्यप्रति खेलबाड गर्दै उपचारको शिलशिलामा चरम लापर्वाही र गैरजिम्मेवारीपन देखिएको बताउँदै इन्चार्ज राजनले विज्ञप्तिमा भनेका छन्, 'गम्भीर प्रकृतिको बिरामीलाई अस्पतालमा छिटो लिएर उपचार गर्नुको अलवा कास्की कारागार बुझाउन खोज्नु, अस्पताल पुर्याईसकेपछि पनि समयमै उपचारको प्रक्रिया अगाडि नबढाउनु, उल्टै विप्लवको मान्छे भएकोले सिध्याई दिनुपर्छ भन्ने एकपक्ष, होइन राजवन्दीलाई वन्दीकै व्यवहार गर्नुपर्छ भन्ने विवाद भएको देखिन्छ । राजवन्दीको स्वास्थ्यप्रति खेलबाड गर्ने र उपचार नगरी मृत्युसम्म पुयाउने कार्यप्रति हाम्रो पार्टी घोर भत्सर्ना र खेद व्यक्त गर्दछ ।' 

इन्चार्ज राजनले जगतको सुनियोजित ढंगबाट मृत्यु भएको भन्दै विरोधमा पुस ३ गते एक दिन धौलागिरी बन्दको घोषणा गरेका छन् । घटनाको छानविन गरी दोषीलाई कारवाही नगरिए थप संघर्षको कार्यक्रम गर्न बाध्य हुने नेकपाले चेतावनी दिएको छ ।