काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाका बहुमत सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल लगायतले मंगलवार सर्वोच्च अदालत पुगेर रिट दायर गरेका हुन् ।
उनीहरूले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै त्यसले आफूहरूलाई जनताले ५ वर्षका लागि दिएको म्यान्डेटको समेत अपमान गरेको जिकिर रिटमा गरेका छन् । प्रधानमन्त्री तथा राष्ट्रपतिको गैरसंवैधानिक कदमलाई उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ ।
'रिट निवेदन पेश गरेर आएका छौं, आजै दर्ता हुन्छ भनेर हामीलाई जानकारी गराइएको छ,' रिट निवेदकमध्येका एक सांसद कृष्णभक्त पोखरेलले भने । पोखरेल विघटित भनिएको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति समेत हुन् ।